|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. मेरो आगामी तीन वर्षको कार्यकालमा म यी कामहरूमा आफूलाई समर्पित गर्नेछु :अञ्जन श्रेष्ठ
    Published May 3, 2026
    By Share Gyan

    मेरो आगामी तीन वर्षको कार्यकालमा म यी कामहरूमा आफूलाई समर्पित गर्नेछु :अञ्जन श्रेष्ठ

    मेरो आगामी तीन वर्षको कार्यकालमा म यी कामहरूमा आफूलाई समर्पित गर्नेछु :अञ्जन श्रेष्ठ

    अञ्जन श्रेष्ठ महासंघको यस वार्षिक साधारण सभाका क्रममा भोलि हुने निर्वाचनबाट नयाँ कार्यसमिति चयन गर्नेछ भने त्यस लगत्तै मैले अध्यक्षको रुपमा नेतृत्व लिनेछु । यो अवसर मात्रै नभई देशभरकै पाँच लाख बढी व्यवसायी जोडिएको महासंघलाई थप उचाइमा पुर्‍याउने जिम्मेवारी हो ।

    नेपाल सरकारपछिको सम्भवतः सबैभन्दा ठूलो सञ्जाल भएको यस महासंघले आगामी तीन वर्ष नयाँ सरकार र सम्पूर्ण सरोकारवालाहरूसँग हातेमालो गरेर उद्यमी व्यवसायीको हितको रक्षा, मनोबलको वृद्धि र अर्थतन्त्रको विस्तारका लागि काम गर्नेछ । अर्थतन्त्रमा करिब ८२ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको निजी क्षेत्र सरकारको सहयात्री हो, साझेदार हो। आगामी तीन वर्षको मेरो कार्यकालमा यो मुख्य उद्देश्य रहने छ । आजको दिनमा नेपाल एक ऐतिहासिक मोडमा उभिएको छ। एकातिर अवसरहरू छन्,अर्कातिर चुनौतीहरू पनि उत्तिकै छन्। अवसरतर्फ हेर्दा, धेरै वर्षपछि स्थिर सरकारको सम्भावना देखिएको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ, विदेशी मुद्राको सञ्चिति अभूतपूर्व उचाइमा छ र सुशासन तथा भ्रष्टाचारविरुद्धको सरकारी प्रतिबद्धताले आम जनतामा आशाको सञ्चार गरेको छ। तर चुनौतीहरू बेवास्ता गर्न मिल्दैन । मध्य पूर्वको संकटले मूल्यवृद्धि, इन्धन आपूर्ति र रेमिट्यान्स प्रवाहमा प्रतिकूल असर पुर्‍याउन सक्ने जोखिम छ । राजस्व र सरकारी खर्चबीचको खाडल डेढ खर्बभन्दा बढीमा पुगेको छ । अपेक्षा गरिएको कर्जा प्रवाह आधा पनि निजी क्षेत्रसम्म पुग्न सकेको छैन र सबैभन्दा चिन्ताजनक कुरा निजी क्षेत्रको मनोबल विगत केही वर्षयता उल्लेख्य रूपले घटेको छ। जेनजी आन्दोलनपछिको परिवेशमा हाम्रो व्यावसायिक वातावरण नयाँ चरणमा प्रवेश गरेको छ । एकातिर युवाहरूको आकाँक्षा, पारदर्शिता र सुशासनप्रतिको माग बढेको छ । अर्कातिर सम्पत्ति, सुरक्षा र व्यावसायिक निरन्तरताका विषयमा निजी क्षेत्रमा अनिश्चितता देखिएको छ। यो दुवै सत्यलाई स्वीकार गर्दै हामीले युवाहरूको आकाङ्क्षालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्ने र निजी क्षेत्रको आत्मविश्वासलाई पुनर्स्थापित गर्ने दुई कामसँगै गर्नुपर्ने भएको छ। सरोकारवाला सबैको सकारात्मक प्रयासका बाबजुद हामीले अर्थतन्त्रमा अपेक्षित सुधार ल्याउन नसक्नुको कारण के हो ? यो प्रश्न आज हामी सबैले इमानदारीपूर्वक सोध्ने बेला आएको छ । मलाई लाग्छ, यसको प्रमुख कारण हो दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता । विगत पाँच वर्षमा पाँच पटक सरकार र गठबन्धन परिवर्तन भयो । प्रत्येक सरकार परिवर्तनसँगै नीति, प्राथमिकता र संयन्त्र फेरिए । राम्रा नीतिले पनि कार्यान्वयनको पर्याप्त समय नपाउँदा सकारात्मक प्रभाव पार्न सकेनन्। हामीले छोटो लाभका लागि गरेका निर्णयहरूको दीर्घकालीन मूल्य आज अर्थतन्त्रले चुकाइरहेको छ । तर अब अवस्था फरक हुनुपर्छ । स्थिर सरकारले नीतिगत स्थिरता दिने सम्भावना बढेको यस घडीमा, हामी निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न तयार हुनुपर्छ । सरकारले उचित वातावरण बनाइदिने हो भने ८२ प्रतिशत अर्थतन्त्र चलायमान गराउने जिम्मा हामी निजी क्षेत्रकै हो । आजको यस मञ्चबाट म स्पष्ट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । मेरो आगामी तीन वर्षको कार्यकालमा म यी कामहरूमा आफूलाई समर्पित गर्नेछु : पहिलो, निजी क्षेत्र र सरकारबीचको सम्बन्धलाई पुनः परिभाषित गर्नेछु । सरकारले निजी क्षेत्रलाई साक्षी होइन, सहकार्यकर्ता मान्ने वातावरण बनाउन म निरन्तर पहल गर्नेछु । नीति निर्माणमा, बजेट निर्माणमा, ऐन-कानुन निर्माणमा र अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको आवाज सुनिने र प्रतिबिम्बित हुने प्रणाली विकास गर्नेछु । दोस्रो, निजी क्षेत्रप्रतिको धारणामा परिवर्तन ल्याउन काम गर्नेछु । उद्यमी भनेको शोषक होइन, सम्पत्ति निर्माता हो; व्यवसायी भनेको कर छली गर्ने होइन, राज्यलाई कर तिर्ने सहयात्री हो यो सत्य समाजमा स्थापित गर्न महासंघले व्यवस्थित अभियान चलाउनेछ । तेस्रो, निजी सम्पत्ति, व्यावसायिक हक र लगानीको सुरक्षा सुनिश्चित गर्न पैरवी गर्नेछु।व्यावसायिक विवादलाई फौजदारी अपराधका रूपमा हेर्ने प्रवृत्ति, अग्रिम धरौटीको सुविधाको अभाव, र विवाद समाधानको ढिलो प्रक्रिया यी समस्याको समाधानमा महासंघ अग्रसर रहनेछ । चौथो, नेपालमा निजी लगानी बढाउन ठोस पहल गर्नेछु। देशभित्रको लगानी सक्रिय बनाउने, स्वदेशी पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउने, र विदेशी लगानीलाई सहज बनाउने नीतिगत वातावरण निर्माणका लागि सरकारसँग नियमित संवाद गर्नेछु । पाँचौँ, जिल्ला, नगर उद्योग वाणिज्य संघ, वस्तुगत र क्षेत्रगत संघहरूको कामलाई बढी प्रभावकारी बनाउनेछु। महासंघ केन्द्रमा मात्र होइन, हरेक जिल्लामा, हरेक प्रदेशमा आफ्ना सदस्यहरूको आवाज बन्नेछ । महासंघ सचिवालयलाई व्यावसायिक, सक्षम र सेवामुखी बनाउनेछु । आजको आवश्यकता तत्काल राहत मात्र होइन, दीर्घकालीन संरचनागत सुधार पनि हो । आगामी तीन वर्षको कार्यकालका मैले छ स्तम्भ, साठी पहलको एक विस्तृत कार्यक्रम तयार पारिसकेको छु । राष्ट्रिय सदस्य सञ्जाल र सेवा उत्कृष्टता, आर्थिक सुधार र सुशासन, प्रतिस्पर्धात्मकता र वृद्धि, विकास सहयोग र निजी क्षेत्र विकास, श्रम-सीप-उत्पादकत्वमा सुधार र निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण यी छ स्तम्भ अन्तर्गत साठी ठोस पहल समावेश छन्। जिल्ला,वस्तुगत र सम्बद्ध सदस्यहरूको सेवामा छुट्टै डेस्क, महासंघ सचिवालयको व्यावसायिक रूपान्तरण, व्यापार-अर्थतन्त्र-कानुन-अनुसन्धान शाखाको स्थापना, महासंघको नेतृत्वमा निजी विधेयकको, औद्योगिक क्षेत्र विकास, करार उत्पादन र क्षेत्रीय मूल्य शृङ्खला, व्यावसायिक विवादको गैर-अपराधीकरण, तथा निजी सम्पत्ति र व्यावसायिक अधिकार वडापत्र यी सबै यस कार्यक्रमका मुख्य आधार स्तम्भ हुन्। मध्य पूर्व संकटबाट सिर्जित समस्याको समाधान, सरकारका सय कार्य योजनासँगको सहकार्य, निजी क्षेत्रको मनोबल पुनर्स्थापना, र अल्पविकसित मुलुकबाट स्तरोन्नतिको तयारी पनि यसै भित्र समेटिएका छन्। तीन वर्षभित्र मापन गर्न सकिने प्रगतिको प्रतिबद्धता गर्दै, यो पूर्ण कार्यक्रम छिट्टै सार्वजनिक हुनेछ र यसको स्वतन्त्र वार्षिक समीक्षा साधारण सभामा प्रस्तुत हुनेछ । महासंघको आग्रहमा सरकारले मन्त्रीपरिषद्बारा पारित गरेको निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा हामीले काम गर्नेछौँ । महासंघले पाँच वर्ष पहिले अघि सारेको एक सय खर्बको अर्थतन्त्र, दोहोरो आर्थिक वृद्धि र वार्षिक दुई लाखलाई रोजगारी दिने गरी मार्गचित्र तयार पारिनेछ । आर्थिक सुशासन र सुधारका लागि विशेष पहल गरिनेछ । महासंघको सुदृढीकरणका लागि अनुसन्धानलाई केन्द्र विन्दुमा राखिनेछ । सदस्यहरूको क्षमता वृद्धिका लागि निरन्तर संवाद र गुनासो पहिचान एवं समाधान संयन्त्र निर्माण गरिनेछ । यी लगायत साठी कामको कार्य योजना छिट्टै सार्वजनिक गर्ने नै छौं। महासंघ कुनै एक उद्योगी वा एक समूहको स्वार्थको प्रवक्ता होइन। महासंघ देशको पाँच लाखभन्दा बढी उद्यमी व्यवसायीको साझा घर हो, र राष्ट्रिय अर्थतन्त्रको साझेदार हो । सरकारले निजी क्षेत्रलाई साक्षी राख्ने भन्दा पनि सहकार्य गर्ने वातावरण बनाउन जरुरी छ । नीति बनाउँदा, बजेट बनाउँदा, ऐन ल्याउँदा, अन्तर्राष्ट्रिय वार्ता गर्दा हरेक चरणमा निजी क्षेत्रको आवाज सुनिनुपर्छ । यसै गरी, हामी निजी क्षेत्रले पनि सरकारलाई समस्या मात्र होइन, समाधान पनि लिएर जाने प्रतिबद्धता जनाउँछौँ । महासंघले अब केवल माग पेस गर्ने संस्था होइन, समाधानको साझेदार बनेर देखाउनेछ । नीतिगत स्थिरताका लागि हामी आशावादी छौँ । स्थिर सरकार, स्थिर नीति, स्थिर लगानी वातावरण यो त्रिकोण नेपालको आर्थिक रूपान्तरणको आधार हो । र यो त्रिकोणमा निजी क्षेत्र सरकारको पूर्ण सहयात्री हुनेछ । अन्त्यमा, सधैँ साथ र सहयोगका लागि म सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु । महासंघप्रतिको विश्वास र अपनत्वका लागि सम्पूर्ण सदस्यहरूलाई आभार व्यक्त गर्न चाहन्छु । निरन्तर प्रवर्द्धन र खबरदारीका लागि सञ्चारकर्मी साथीहरूलाई धन्यवाद दिन चाहन्छु । र आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । नेपालको आर्थिक रूपान्तरण न त सरकार एक्लैले गर्न सक्छ, न निजी क्षेत्र एक्लैले गर्न सक्छ । यो सहकार्य र साझेदारीको परिणाम हो । र यो साझेदारीको नेतृत्व लिन महासंघ तयार छ ।

    Most Recent

    Aug 17, 2026
    NEPSE Falls 2.01 Points as Turnover Climbs to Rs. 5.25 Arba

    Share Gyan

    NEPSE Falls 2.01 Points as Turnover Climbs to Rs. 5.25 Arba
    Aug 17, 2026
    Gold and Silver Prices Rise in Nepali Market

    Share Gyan

    Gold and Silver Prices Rise in Nepali Market
    Aug 17, 2026
    NMB Capital Announces Cash Dividends for Three Mutual Funds

    Share Gyan

    NMB Capital Announces Cash Dividends for Three Mutual Funds
    Aug 17, 2026
    NEA Profit Falls by Rs. 3.95 Billion as Costs and Financial Burden Rise

    Share Gyan

    NEA Profit Falls by Rs. 3.95 Billion as Costs and Financial Burden Rise
    Aug 17, 2026
    Ujyalo Nepal Launches Signature Campaign Against Electricity Tax

    Share Gyan

    Ujyalo Nepal Launches Signature Campaign Against Electricity Tax
    Aug 17, 2026
    Nepal’s Power Export Boom: Rs. 17.47 Billion Earned from Electricity Exports

    Share Gyan

    Nepal’s Power Export Boom: Rs. 17.47 Billion Earned from Electricity Exports